प्राथमिक उपचार: जीवन जोगाउने महत्वपूर्ण सुझाव
दुर्घटना वा आकस्मिक बिमारीको समयमा अस्पताल पुग्नु अघि गरिने प्राथमिक उपचारले बिरामीको ज्यान जोगाउन निर्णायक भूमिका खेल्छ। बिमल फार्मेसी तपाईँलाई निम्न महत्वपूर्ण अवस्थामा गरिने उपचारबारे जानकारी दिन्छ:
१. सर्पले टोक्दा के गर्ने? (Snake Bite)
सर्पले टोकेमा अत्तालिनु हुँदैन। धेरैजसो सर्प विषालु हुँदैनन्।
- गर्ने काम: बिरामीलाई शान्त राख्ने, टोकेको भागलाई नचलाई मुटुको सतहभन्दा तल राख्ने र तुरुन्त नजिकैको सर्पदंश उपचार केन्द्र लैजाने।
- नगर्ने काम: टोकेको ठाउँमा ब्लेडले नकाट्ने, मुखले विष तान्ने प्रयास नगर्ने र डोरीले धेरै कसिलो गरी नबाँध्ने।
२. हृदयघात हुँदा (Heart Attack)
यदि छातीको बीच भागमा असह्य दुखाइ भयो र पसिना आयो भने त्यो हृदयघात हुन सक्छ।
- बिरामीलाई सजिलो गरी बसाउने वा सुताउने।
- तुरुन्त एम्बुलेन्स (१०२) बोलाउने र अस्पताल लैजाने।
३. पोलेको घाउ (Burn Injuries)
- पोलेको भागमा कम्तिमा १५ मिनेटसम्म धाराको सफा चिसो पानी खन्याउने।
- पोलेको ठाउँमा घ्यू, कोलगेट वा चिनी कहिल्यै नलगाउने। यसले संक्रमण बढाउँछ।